logo of PMS News Nepal

PMS News Nepal

६ कार्तिक २०८३, बिहीबार

22 Oct 2026, Thursday

विविध

नवलपरासी पश्चिममा बस दुर्घटना : चालक र सहचालकसहित ७ जना घाइते

नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक सोमबार बिहान काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन्।

फाइल तस्बिर

कुमारी तिवारी

बर्दघाट | २६ आश्विन २०८३, सोमबार

बर्दघाट, असोज २६ — नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार बिहान करिब ७:३० बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो। बसमा करिब ४० देखि ४५ जना यात्रु सवार थिए।

दुर्घटनामा घाइते भएका सातै जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको छ। घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने अन्य छ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका क्रममा सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको HR 39 G 2876 नम्बरको ट्रकमा समेत सामान्य ठक्कर लाग्दा ट्रकको पछाडिको भागमा क्षति पुगेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दघाटबाट प्रहरी निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित ११ जनाको टोली घटनास्थलमा खटिएको थियो।

दुर्घटनापछि पनि पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

PMS News Nepal
सत्य र विकासको सम्बाहक

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।