logo of PMS News Nepal

PMS News Nepal

८ भाद्र २०८३, सोमबार

24 Aug 2026, Monday

मनाेरञ्जन

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुद्वारा तीज मिलन कार्यक्रम सम्पन्न

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | ८ भाद्र २०८३, सोमबार

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, जिल्ला कपिलवस्तुले तीज मिलन तथा दरखाने कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिङेस्थित होटल मायाज इन्टरनेशनलमा आयोजित कार्यक्रममा करिब ४५० जना महिलाको सहभागिता रहेको थियो।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष पदम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछाने रहनुभएको थियो। कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उपमहासचिव, विभिन्न वडाका वडा अध्यक्षहरू, समाजसेवी  तथा विभिन्न क्षेत्रका महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका महिलाहरूलाई विशेष सम्मान गरिएको थियो। साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र आकर्षक बनाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले आयोजना गरेको तीज मिलन कार्यक्रमले व्यवसायीहरूबीच आपसी समझदारी, एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले महिलाहरूको सम्मानसँगै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणमा समेत योगदान पुर्‍याउने उल्लेख गर्नुभयो।

लामिछानेले परापूर्वकालदेखि चलिआएका मौलिक संस्कृति तथा परम्पराहरूलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नेपाली लोकसंस्कृतिको जागरण तथा संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

कार्यक्रममा सहभागी महिलाहरूले तीजका गीत तथा नृत्य प्रस्तुत गर्दै रमाइलो गरेका थिए। दरखाने कार्यक्रमसँगै आपसमा शुभकामना आदानप्रदान गर्दै महिलाहरूले तीज पर्वको मौलिकता र सांस्कृतिक महत्वलाई उजागर गरेका थिए।

कार्यक्रमको सञ्चालन होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका महासचिव लक्ष्मण न्यौपानेले गर्नुभएको थियो भने संघका उपाध्यक्ष धुर्व भूषालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

व्यवसायी संघले आयोजना गरेको उक्त तीज मिलन कार्यक्रमले व्यवसायी, महिला तथा विभिन्न क्षेत्रका व्यक्तिहरूबीच आत्मीयता, सहकार्य र सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

थप समाचार

Featured Image of the news article लागूऔषधसहित १५ जना पक्राउ

४ भाद्र २०८३, बिहीबार

लागूऔषधसहित १५ जना पक्राउ

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।