logo of PMS News Nepal

PMS News Nepal

७ मंसिर २०८३, आईतवार

22 Nov 2026, Sunday

अर्थ / वाणिज्य

श्री प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गणेश पुलामी चयन

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

अर्घाखाँची | ७ मंसिर २०८३, आईतवार

अर्घाखाँचीको सितगंगा नगरपालिका–११, लुङ्ग्रीस्थित श्री प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले गणेशबहादुर पुलामीको नेतृत्वमा नयाँ नौ सदस्यीय कार्यसमिति चयन गरेको छ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशवबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा सितगंगा नगरपालिका वडा नं. ११ का वडा सदस्य बुद्धिबहादुर नेपाली रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सब डिभिजन वन कार्यालय पथरकोटका वनरक्षक कृष्णप्रसाद सापकोटाको उपस्थिति रहेको थियो।

त्यसैगरी वनरक्षक भूपजङ्ग शाही, प्रहरी चौकी डोहोटेका प्रमुख थम्मनबहादुर मगरलगायत स्थानीय उपभोक्ता तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुद्धिबहादुर नेपालीले सामुदायिक वन स्थानीय समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण, संवर्द्धन र दिगो व्यवस्थापनमा सबै उपभोक्ता जिम्मेवार बन्नुपर्ने बताउनुभयो। उहाँले सामुदायिक वनले वातावरण संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै वनको संरक्षण र उपयोगलाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो।

त्यस्तै विशिष्ट अतिथि वनरक्षक कृष्णप्रसाद सापकोटाले सामुदायिक वनको दिगो व्यवस्थापनका लागि उपभोक्ताहरूबीच सहकार्य, एकता र जिम्मेवारी आवश्यक रहेको बताउनुभयो। उहाँले वन क्षेत्रको संरक्षण, चोरी निकासी नियन्त्रण, वन डढेलो रोकथाम तथा वन पैदावारको उचित व्यवस्थापनमा उपभोक्ता समूहले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। साथै वन संरक्षणसम्बन्धी कानुनी प्रावधानको पालना गर्दै आगामी दिनमा सामुदायिक वनलाई अझ व्यवस्थित बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

साधारण सभामा अध्यक्ष केशवबहादुर घर्तीले आगामी वर्षका लागि करिब दुई करोड रुपैयाँ बराबरको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। उक्त कार्ययोजनामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, विकास तथा उपभोक्ताको हितसँग सम्बन्धित विभिन्न कार्यक्रम समेटिएको जनाइएको छ।

सामुदायिक वनले स्थानीय स्तरमा वातावरणीय सन्तुलन कायम राख्न, जैविक विविधताको संरक्षण गर्न तथा वन पैदावारको सदुपयोगमार्फत उपभोक्ताको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। आगामी दिनमा पनि वनको दिगो व्यवस्थापन र उपभोक्ताको हितलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।

यसैबीच अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा गणेशबहादुर पुलामी, उपाध्यक्षमा मीना घर्ती, सचिवमा कल्पना पल्ली, सहसचिवमा प्रकाश पल्ली र कोषाध्यक्षमा ध्रुव पन्थी चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा जानकी पल्ली, रोमी पल्ली, सुष्मा पल्ली र सुरिया पल्ली चयन हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिले सामुदायिक वनको संरक्षण, पारदर्शी व्यवस्थापन, संस्थागत विकास तथा उपभोक्ताको हितमा काम गर्ने अपेक्षा गरिएको छ। नयाँ नेतृत्व चयनसँगै समूहले आगामी दिनमा वन संरक्षण र सामुदायिक विकासका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास लिइएको छ।

कार्यक्रमले पुरानो कार्यसमितिको कार्यकालको समीक्षा गर्दै नयाँ नेतृत्व चयन गरेको हो।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।